एन्फाको प्रदेश कमिटी गठनको मिति तय

नेपालखोज २०७७ पुष १२ गते १६:२१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाँकी रहेका प्रदेश कमिटी गठनको मिति टुङ्गो लगाएको छ । प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटी बनाउने प्रक्रिया अघि बढाएको छ ।

तीन प्रदेशमा सर्वसम्मत प्रदेश कमिटी गठन गरेको एन्फाले बाँकी चार प्रदेशका लागि मिति तोकेको छ । एन्फाको पछिल्लो कार्यसमिति बैठकले लुम्बिनी, बागमती, कर्णाली र गण्डकी प्रदेशको कमिटी गठनका लागि केन्द्रिय प्रतिनिधि तय गरेको थियो ।

एन्फाले कर्णाली प्रदेशका लागि कुमार केसी, बागमतीका लागि पूर्णमान चित्रकार, लुम्बिनीका लागि कृष्ण थापा र गण्डकी प्रदेशका लागि प्रकाश पंगेनीलाई जिम्मेवारी दिएको थियो । एन्फाका जिल्ला समन्वय समितिका संयोजक वीरबहादुर खड्काका अनुसार तदर्थ कमिटी गठनका लागि गण्डकी प्रदेशमा १७ गते, बागमती प्रदेशमा २० गते, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा १३ गतेको मिति तय गरिएको छ ।

लुम्बिनीका केन्द्रिय परिवेक्षक कृष्ण थापाले कार्यव्यस्तताको कारण देखाउँदै समय केही दिन पर सार्न अनुरोध गरेका छन् । सोही अनुसार १५ गते लुम्बिनी प्रदेशमा तदर्थ कमिटी गठनको मिति तय हुने सम्भावना रहेको छ । एन्फाले प्रदेशको तदर्थ कमिटी गठनमा सहमति जुटाउन यसअघि अनौपचारिक छलफल अघि बढाएको थियो । एन्फाले सहमतिकै आधारमा यसअघि प्रदेश एक, दुई, सुदुरपश्चिम प्रदेशमा तदर्थ कमिटी गठन गरेको छ ।

एन्फा स्रोतका अनुसार बाँकी रहेको प्रदेश मध्ये कर्णालीको तदर्थ कमिटीको संयोजकमा सहमति जुटिसकेको छ । कर्णालीको प्रदेश कमिटीको नेतृत्वमा प्रमोद हमालको नाममा सर्वसम्मती छ । उनी भर्खरै कर्णाली प्रदेश खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित समेत भएका थिए । अन्य प्रदेशमा भने सहमती जुट्न बाँकी छ ।

मुख्यरुपमा लुम्बिनी र बागमतीको नेतृत्वमा सहमति जुटाउन कठिन देखिएको छ । लुम्बिनीमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र दाङ्ग जिल्ला फुटबल संघका पूर्वअध्यक्ष पुकार थापाबीच मुख्य प्रतिस्पर्धा छ । यता, बागमतीमा वर्तमान एन्फा नेतृत्वविरुद्ध विरोधमा उत्रदै आएका विराटजंग शाहीको दाबी एन्फाको संस्थापन पक्षलाई टाउको दुखाईको विषय बनेको छ ।

एन्फाले सहमति नै प्रदेशको तदर्थ कमिटी गठन गर्न खोजेको छ । तर केन्द्रिय निर्वाचनलाई प्रभावित पार्ने हुनाले प्रदेशको कमिटी गठनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया