शुक्रबार, पुष ४, २०८२

आज देशैभर कांग्रेसको विरोध प्रदर्शन, कसको सम्बोधन कहाँ ?

नेपालखोज २०७७ पुष १३ गते ९:०६

काठमाडाैं । संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर प्रदर्शन गर्दैछ। कतिपय नेताहरु जिल्लाले तय गरेका विरोध सभामा सहभागी हुने भएका छन् । भने केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रको विरोध कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्। त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं क्षेत्र नं. २ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् । विरोध सभापछि हुने सभालाई शर्माले कोटेश्वरमा सम्वोधन गर्ने तय भएको छ ।

त्यस्तै नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ ले बृहत र्‍याली सहित मनमैजुमा जुलुस निकाल्ने भएको छ । जुलुसको नेतृत्व काठमाडौं क्षेत्र नं. ६ का सांसद्, पूर्व रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय नेता भिमसेन दास प्रधानले गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार काठमाडौं क्षेत्र नं ६ को आयोजनामा लोकतान्त्रिक चोक मनमैजुमा दिउँसाे ठिक १ः०० बजे जुलुस प्रदर्शनका साथै विरोध सभा हुने नेपाली काँग्रेसका नेता विष्णुभक्त तिमिल्सिनाले बताएका छन् । तर नेता गगन थापा नेपालगन्जमा हुने विरोध सभामा सहभागी हुने बताइएकाे छ ।

त्यस्तै, कांग्रेस क्षेत्र नम्बर ७ काठमाडौंले ठूलो संख्यामा नेताकार्यकर्ता सडकमा उतार्दै प्रधानमन्त्री ओलिको अधिनायकवादी चरित्रको कडा बिरोध गरिने नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रीजालले बताएका छन् । तारकेश्वर वडा नं ३ , ४ र ५ वडाका नेता तथा कार्यकर्ताहरु बाइपास चोकमा १२ः०० बजे भेलाभई जुलुस सहित बालाजु जाने तयारी रहेको छ । त्यसैगरि काठमाडौं महनगरपालिका वडा नं १६ , १७ ,१८ र २५ का नेताकार्यकर्ताहरु सोह्रखुट्टेमा भेलाभई जुलुस सहित बालाजु जाने बताइएको छ । बालाजुमा दिउसो ठिक १ः०० बजे भेला हुने बताइएको छ ।

प्रतिक्रिया