बिहीबार, चैत १५, २०८०

राइडरद्वारा पठाओ कार्यालय तोडफोड

नेपालखोज २०७७ पुष १३ गते १३:१७

काठमाडौं । राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ ।

केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो ।

कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् । यसैबीच सोमवार(आज) नै कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेका छन् ।

तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका मागहरु राखेको बताइएको छ ।

प्रतिक्रिया