शुक्रबार, वैशाख १४, २०८१

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त

नेपालखोज २०७७ पुष १४ गते २०:२७

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई उनले मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण सोधेका छन् ।

उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पार्टी गतिविधि गरेको, सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई पदबाट हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर हुन भने कारबाहीमा पर्ने जम्कट्टेल र माझी प्रचण्ड नेपाल पक्षधर हुन्। पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए । नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया