राईले गरे आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसैको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईकाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।
स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताए । निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।








प्रतिक्रिया