मन्त्री अर्यालद्वारा अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन निर्देशन

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेर उक्त निर्देशन दिएकी हुन् ।
पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिएकी थिईन् । कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताईन् ।

त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउनसमेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिईन् । ‘अग्र्यानिङ खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन’, मन्त्री अर्यालले भनिन, ‘तर अब प्राङ्गारिक मलमा जोड दिउँ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाउ ।’

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताईन् । कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिईन् ।
मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडी बढाउन निर्देशन दिईन् ।

‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भनिन्, ‘अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।’ राम्रा कामलाई निरन्तरता हुने ढंगले अगाडी बढ्नुपर्ने भन्दै उहाँले सोच र कार्यशैली बदलेर कामलाई अगाडी बढ्न निर्देशन दिईन ।
निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताईन् ।
यसैबीच पशुसेवा विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिईन् । बजारमा देखिएको बोयर बाख्राको मागको पुर्ती गर्नेगरी काम गर्न समेत निर्देशन दिईन् । पशुपंक्षीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै मन्त्री अर्यालले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिईन् ।

प्रतिक्रिया