ओलीको आरोपमा सभामुखको खण्डन

नेपालखोज २०७७ पुष १७ गते २१:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक कार्यक्रममा विघटिन प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रश्न उठाएपछि सापकोटा सो आरोपको खण्डन गरेका छन् ।

सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वास प्रस्तावमा सभामुखबाट दर्ताका लागि लिखित निर्देशन भएको उल्लेख छ ।

‘सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरूलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयास स्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’

अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको पनि उनले बताएका छन् ।

पुस ५ गते ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा ओलीले सभामुखबाट आफ्नो मर्यादा कायम नभएको टिप्पणी गरेका थिए । यस्तै ओलीले सभामुखबाट एमसीसी रोक्ने काम भएको भन्दै आक्रोश समेत पोखेका थिए ।

प्रतिक्रिया