एजेण्डा बिना दलहरुको सडक आन्दोलन निर्वाचनकै तयारी : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०७७ पुष १८ गते ९:५३

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको बताएकाछन ।


“बिना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन,” मन्त्री गुरुङले राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको बताए ।

अब मुलुक निर्वाचनमा गैरहेको वताउदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकार लगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरेका छन् । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए ।

सरकारलाई कतिपयले कामचलाउ भन्ने गरिएको सन्दर्भमा उनले यो सरकारले संविधान अनुसार पूर्ण अधिकार सहितको कार्य गरिरहेको स्पष्ट पारे । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको कामकार्वाही प्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरे ।

राष्ट्रपति संस्थामाथि अपमान खेदजन्य

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको उल्लेख गर्दै आपत्ति जनाए ।

उनले सम्मानित राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भईरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समुहहरुलाई जिम्मेवार हुन अनुरोध पनि गरे ।

प्रतिक्रिया