बागलुङमा थला परेको पर्यटन क्षेत्र तङ्ग्रिदै

नेपालखोज २०७७ पुष १९ गते १३:५३

बलेवा । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्बलाउन थालेका छन् ।

बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् ।

यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत् प्रदेश सरकारले १३ ओटा उद्यान निर्माणको काम गर्दै छ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चारओटाको काम सुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाभर छओटा स्थानीय तहमा ११ ओटा उद्यान र दुईओटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालु आर्थिक वर्षको लागि विनियोजित छन् ।

‘‘उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ, ”गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्छन्, यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौँ ।’’

ताराखोलामा दुईओटा उद्यान बन्नेछन् । सहिद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि १०र१० रुपैयाँ लाख बजेट छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर सुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

जैमिनी नगरपालिकामा १० लाखमा दुईओटा उद्यान बन्नेछन् । पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा सहिद पार्क, रामरेखामा बीपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् ।

बीपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा १० लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ १० लाख रुपैयाँ लाख बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि छ लाख ८३ हजार बजेट छ ।

जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचओटा विद्यालयमा विद्यालय परिसर हरित प्रवर्द्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा २० लाख रुपैयाँ बजेट रहेको उनले बताए । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत् प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउँछन् ।

स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चारओटा योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया