प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

नेपालखोज २०७७ पुष १९ गते १५:२६

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् ।

सापकोटाले अविश्वास प्रस्तावको दर्ता समयसमेत उल्लेख गरेर लिखित जवाफ पठाएको उनको सचिवालयले जनाएको छ । नेपालको संविधानले यो परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद् विघटन गर्न नमिल्ने उनले पठाएको जवाफमा भनेका छन् ।

प्रतिनिधि सभा विघटनलाई लिएर सर्वोच्च अदालतले सभामुख, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधि सभा विघटन गर्नुको कारण आजसम्मको समय दिएर लिखित जवाफ मागेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका थिए। प्रतिनिधि सभा विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले आपत्ति जनाउँदै आएका छन् । प्रतिनिधि सभा विघटनपछि नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

प्रतिक्रिया