तालचोकमा सहकारी बैंकको ६० औं शाखा शुरु

नेपालखोज २०७७ पुष २१ गते ११:२९

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ले शाखाको उद्घाटन गरेका हुुन । उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिएका छन् ।

सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उनको भनाई थियो । सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भने–दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नु पर्छ ।

विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरुमार्फत सहकारीकर्मीहरुलाई प्रविधिमैत्री बनाउन ध्यान दिन सुझाव दिए । सहकारी क्षेत्रमा पूँजि परिचालन प्रभावकारी रहेको र त्यसलाई उत्पादन तथा बजारीकरणमा केन्द्रीत गर्न सके देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई वित्तीय रुपमा सक्षम बनाउदै सहकारीहरुलाई व्यावसिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिईन । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका उपाध्यक्ष अपिल कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले सहकारी क्षेत्रको एकमात्रै बैंकका रुपमा रहेको सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि कारोबार लगायतका कार्यमा सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकले ४४ वटा शाखामार्फत सदस्य सहकारीहरुका बीच कारोबार गर्दैै आएकोमा गत असारमा थप २४ वटा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो । २४ मध्ये १६ वटा शाखा सञ्चालनमा आइसकेका र थप ८ वटा शाखा सञ्चालनका लागि अन्तिम तयारी भैरहेको बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिए । तालचोक सहित गण्डकी प्रदेशमा ६ वटा शाखा सञ्चालनमा रहेका र स्याङ्जाको पुतली बजारमा नयाँ शाखा सञ्चालन गर्ने तयारी रहेको जिसीले बताए ।

प्रतिक्रिया