‘नेम्बाङज्यू ! सविधानमाथि ‘कु’ भएको बेला दुलोबाट निस्किनुस्’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा विघटनलाई लिएर मौन बसेकोमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङमाथि कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा विघटनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु हुनुअघि यसबारे बोल्दै थापाले नेम्बाङमाथि कटाक्ष गरेका हुन्। संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसकेको आरोप उनले नेम्बाङलाई लगाएका छन् ।
‘म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,’ उनले लेखेका छन्, ‘अपशोस उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैँले बनाएको संविधानमा ‘कु’ हुँदै गर्दा चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरीहता’ देख्दा दया लागेको छ ।’
संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस नगरेकोमा उनले दुस्ख जनाएका छन् । उनले प्रतिनिधिसभा विघटलाई लिएर सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास पनि जनाएका छन् ।
‘मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ,’ उनले भनेका छन् । पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि परेका १२ वटा रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो । सरकारको जवाफ आइसकेपछि आजदेखि सुनुवाइ थालिएको हो ।

प्रतिक्रिया