पुर्ननिर्माण प्राधिकरणका सव इन्जिनियर एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

नेपालखोज २०७७ पुष २२ गते १९:४७

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सव इन्जिनियर एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकका प्रवक्ता तारानाथ अधिकारीकाअनुसार तनहुँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव इन्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा परेका हुन् ।

प्रवक्ता अधिकारीकाअनुसार सव ईन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीद्वारा निज सुरेन्द्र अधिकारीलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भानु नगरपालिका वडा नं.२, बाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको अधिकारीको बिषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया