ओली पथमा ट्रम्प कि, ट्रम्प पथमा ओली ?

नेपालखोज २०७७ पुष २३ गते १५:२१

काठमाडौं । सत्ता छोडनुपर्दाको सकस कस्तो हुन्छ ? हामीले नेपालमै यस्तो दृश्य देखिरहेको बेला संयुक्त राज्य अमेरिकामा यस्तै सकस देखिएको छ । जुन थलोले आफूलाई सत्तामा पुर्याएको छ त्यही थलो अर्थात् संसदलाई नै निशाना बनाउने पछिल्लो उदाहरण नेपालदेखि अमेरिकासम्म पुगेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसदलाई समयअगावै विघटन गरिदिए । आफ्नो कुर्सी र सत्ता जाने पक्कापक्की भएपछि उनले संसदलाई निशाना बनाए । ‘नरहे बाँस नबाजे बाँसुरी’ भनेझै प्रधानमन्त्री निर्वाचित गर्ने संसद नै भंग गरिदिए । आफू त जाने नै भए तर अर्का प्रधानमन्त्री निर्वाचित गर्ने र हुने विकल्प बाँकी रहँदारहँदै अर्का कुनै व्यक्ति प्रधानमन्त्री नबनुन भनेर प्रधानमन्त्री निर्वाचित गर्ने थलो संसद विघटन गरे । यद्यपि बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन् ।

संसदमा विकल्प रहँदासम्म संसद विघटन नहुने संवैधानिक व्यवस्था र यसअघि सर्वोच्च अदालतबाट प्रतिपादित नजीरका विरुद्ध ओलीले अप्रत्याशित रुपमा संसद विघटन गरिदिए । उनको यो असंवैधानिक कदमलाई रोक्ने वा परीक्षण गर्ने वा कानुन तथा संविधानविदसँग रायपरामर्श सल्लाह लिने कामै नगरी क्षण भरमै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिशलाई सदर गरिदिए । उनले संवैधानिक असंवैधानिक परीक्षण नै नगरी लालमोहर लगाएर आउँदो वैशाख १७ र २७ गते संसदीय निर्वाचनको मिति तोकिदिइन् । यद्यपि उनको यो असंवैधानिक कदमविरुद्ध कानुन व्यवसायीहरुले चुनौति दिएर सर्वोच्च अदालतलाई गुहारेका छन् ।

सर्वोच्चमा विचाराधीन यो विषयले चाँडै नै एउटा निकास पाउने नै छ । तर सत्ता र कुर्सीका लागि कुनै पनि व्यक्ति यतिसम्मका कदम चाल्न पछाडि पर्दैनन् भन्ने उदाहरण नेपाली इतिहासमा देख्न पाइएको छ । कुनै बेला सत्ता र कुर्सी मेरा लागि केही पनि होइन, प्रधानमन्त्रीको कुर्सी आउँछ जान्छ, देश र राष्ट्र ठूलो हो भन्ने अभिव्यक्ति दिने व्यक्ति त्यही कुर्सीका लागि संविधानमै नभएको धाराको गलत व्याख्या गर्दै संविधान नै धरासायी हुने गरी कदम चालेका छन् ।

यस्तै दृश्य अहिले संयुक्त राज्य अमेरिकामा देखिएको छ । हालै सम्पन्न निर्वाचनमा सत्ता गएपछि राष्ट्रपति डोनल्ड ट्रम्प बौलाएका छन् । उनलाई आफ्नो हातबाट सत्ता गएको पाच्य भइरहेको छैन् । अत्यधिक बहुमतका साथ डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भएपछि उनले निर्वाचन अस्वीकार गर्दैआएका छन् । कुर्सी छाडन इन्कार गर्दै आएका ट्रम्पले संसदमै आक्रमण गर्नसमेत पछाडि परेनन् । उनका समर्थकले बाशिंगटन डिसीमा रहेको संसद भवनमा आक्रमण गरेका छन् । हातहतियारसहित संसदमाथि आक्रमण गरेपछि चार जनाको निधन भएको छ, कयौं घाइते भएका छन् । त्यहाँको प्रहरीले कयौं आक्रमणकारीलाई पक्राउ गरेको छ । कर्फ्यु आदेश जारी गरेको छ । अनिश्चितकालीन निषेधाज्ञाकाबीच अमेरिकाको जनजीवन असामान्य बनेको छ । अहिले ट्रम्प र उनका समर्थकले गरेका घटनाको संसारभरि निन्दा र भत्र्सना हुँदैछ ।

यसरी चाहे अमेरिकाका राष्ट्रपति ट्रम्प हुन वा नेपालका प्रधानमन्त्री ओली हुन सत्ता र कुर्सीका लागि जननिर्वाचित संसदलाई निशाना बनाएका छन् । जनताको सार्वभौमसत्ता प्रयोग गर्ने थलो संसदमाथि नेतृत्वको कुदृष्टि परेपछि त्यहाँ लोकतन्त्र, गणतन्त्र, संघीयता वा संवैधानिक व्यवस्थाहरु धरासायी हुँदै जान्छन् । यसले समग्रमा व्यवस्थाप्रति नै आशंका उत्पन्न गराउँछ । अहिले पनि त्यही देखिएको छ । दुवै देशको संसदले अहिले यस्तै नियति भोगिरहेको छ । यद्यपि दुवैकाे शैली फरक छ । नेपालमा कानुन र संविधानको गलत व्याख्या गरेर संसदलाई निशाना बनाइएको छ भने अमेरिकामा संसदमै आक्रमण प्रयास भएको छ ।

प्रतिक्रिया