महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

महोत्तरी । हास्यकलाकार धुर्मुस–सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमुना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।
बीस दिनको अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।
ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितालाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।
उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।
एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मंगलबार १३औंँ पुण्यतिथिका दिन अचानक उनका अर्का आठमहिने नाति (हरिनारायण सदाका माहिला छोरा) प्रभासको पनि मृत्यु भएको रामरतिले जानकारी दिए ।
सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

प्रतिक्रिया