देशभरबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाललाई ओलीको चुनौती

नेपालखोज २०७७ पुष २४ गते १६:०८

धनगढी । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि चुनावमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् ।

आज धनगढीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी विभाजन गरेको आरोप लगाउँदै ओलीले यो समूहलाई यस्तो चुनौती दिएका हुन् ।

उनले नुहाउँदा पनि दुई चार केस झरेर जाने हुँदा पार्टीलाई केही असर नपर्ने दाबीसमेत गरे । ‘तीन करोड मान्छेमा कतिजना मान्छे गए ? सुन्नुभयो– उहाँहरु २६५ कि कति गयौँ भन्छन् । अनि के भयो त ? नुहाउँदा पनि दुई चार केस झरेर जान्छ के हुन्छ ?’, ओलीले भने, ‘दुई अंकमा सिट जितेर देखाउनुहोस् । देशभरीबाट १० सिट जितेर देखाउनुहोस् ।’

ओलीले पार्टीका केही नेता अश्लिल नाराबाजी गर्दै हिँडेको तर आफूलाई देश बनाउने चिन्ता मात्र भएको बताए । ‘प्रचण्ड र माधव नेपाल अगाडि लागेर अश्लिल नाराबाजी गरेर हिँडेका छन् । गालीगलोज गरेर हिँडेका छन् । हामीलाई गाली गलोज गरेर हिँड्ने फुर्सद छैन । हामीलाई देश बनाउने चिन्ता छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया