प्रधानमन्त्रीलाई चिन्न ढिला भयो : नेता खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई चिन्न ढिला भएको बताएका छन्। सम्पर्क समन्वय कमिटीले राजधानिको चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि ओलीलाई चिन्न नसकेको बताएका हुन्।
‘नेपाल अगाडी बढछ भनेर हामीले कल्पना गरेका थियौं। तर उहाँले प्रधानमन्त्रीको कुर्सिमा पुगेपछि पार्टी बिर्सनु भयो,’ उनले भने। केपी ओलीले एमालेको एउटा गुटलाई मात्रै नेतृत्व गरेको खनालको आरोप छ। ओलीले बुर्जुवा नीति तथा कार्यक्रम ल्याएर पार्टीमाथि प्रहार गरेको उनले बताए।ओलीका विभिन्न षडयन्त्रलाई आफूहरुले रोकेको बताउँदै खनालले भने, ‘पार्टीले रोकेकै हो। षडयन्त्र गर्ने कामहरुमा केपी ओलीलाई रोकेकै हो।’
ओलीले राजनीतिक र संवैधानिक निकायमा आफू अनुकुल नियुक्ति दिएको र ति निकायमा निरंकुशतालाई बढावा दिएको खनालको दाबी छ। ‘सत्तामा केपीले आफ्ना मान्छे र आफ्ना मातहत राखेको छ। अनुसन्धान विभागमा पति त्यस्तै छ,’ उनले भने।
नेपाल दक्षिणपन्थि दिशातिर गएको खनालको टिप्पणी छ। सत्तामा पुगेदेखि नै ओलीले विभिन्न खालका धम्की दिन थालेको भन्दै उनले ओलीका धम्की भन्दा संविधान र त्यसको कार्यन्वयनमा आफूहरुको ध्यान भएको बताए।
प्रतिक्रिया