वर्तमान सरकार पूर्ण अवधिको : मन्त्री ज्ञवाली
मोरङ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्ण अवधिको भएकाले पहिले जसरी काम गर्ने बताएका छन् ।नेपाल वुद्धिजीवी परिषद् मोरङद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रममा उनले निर्वाचन आयोगले चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचारसंहिता नलाग्ने र सबै कार्य गर्ने स्पष्ट पारेका छन् ।
मन्त्री ज्ञवालीले जनता समक्ष नयाँ जनमत लिनका लागि गरिएको संसद् विघटन कार्य लोकतान्त्रिक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले बहुमतको नाममा बन्धक बनाएकाले ताजा जनादेश लिन निर्वाचनमा जानु बाध्यता भएको धारणा व्यक्त गरे । उनले संसद् विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपर्ने अवस्था आएको बताए ।
मन्त्री ज्ञवालीले तोकिएको समयमा निर्वाचन हुने बताउँदै सरकारले जनताका लागि गरेको उपलब्धिलाई घरघरमा पु¥याउन सबैसँग आग्रह गरेका छन् । उनले हाम्रो तर्फबाट पार्टी विभाजन नभएको प्रष्ट पार्दै नीतिगत र सैद्धान्तिक ढङ्गले छुट्टिएर गएका समूहलाई प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामा जनता समक्ष जानु उपयुक्त भएको भन्दै संविधानमा संसद् विघटनको परिकल्पना नगरेको भन्नु गलत भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनबाट सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दिएको विकल्प प्रचण्ड–नेपाल समूहलाई मान्य नभई जबरजस्ती सत्ताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउन लागेकाले संसद् विघटन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।
प्रतिक्रिया