शनिबार, वैशाख १५, २०८१

नापी कार्यालयका पूर्वप्रमुख जैसीसहित १७ जनाविरुद्ध मुद्दा

नेपालखोज २०७७ पुष २६ गते १७:०६

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको नापी कार्यालयका पूर्व प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगरसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । आयोगले १७ जना उपर बिगो स्वरुप २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको हो ।

ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी सार्वजनिक जग्गामा नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री वितरण गर्न सहयोग गरेको आरेपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । राष्ट्रसेवक कर्मचारीले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरेकाले तत्काल नापी कार्याल, ललितपुर र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रालि, यूरो हाउजिङ्ग डेभलपर्स प्रालि र काठमाडौं हस्पिटल प्रालिका सञ्चालकसमेतका नाममा मागदावीसहित आइतबार मुद्दा दायर गरिएको हो ।

ललितपुर महानगरपालिका–२८ र २३ मा आठ रोपनी बाह्र आना तीन पैसा दुई दाम क्षेत्रफलको सरकारी जग्गा हिनामिना गरेको पुष्टि भएको आरोप पत्रमा उल्लेख छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर अपराधमा कुनै संलग्नता नभएतापनि सो सार्वजनिक जग्गा कानूनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरूलाई प्रतिवादी कायम गर्नुपर्ने भएकाले सरकारी सार्वजनिक जग्गा हाल निजहरुको नाममा रहे, भएको पाईएकोले निजहरुको हकमा सजायको मागदाबी लिन न्यायोचित नदेखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ४७ बमोजिम उक्त सार्वजनिक खोलाको जग्गा असुलउपर र जफत गरी नेपाल सरकारको नाममा कायम गरी पाउन मागदाबी लिई माथी उल्लेखित व्यक्तिहरूलाई समेत प्रतिवादी कायम गरिएको छ ।

प्रतिक्रिया