मंगलबार, चैत ४, २०८१

ब्रोकर कम्पनीहरुले खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तदायित्व शीर्षकमा खर्च गर्नुपर्ने

नेपालखोज २०७७ पुष २७ गते १५:१५

काठमाडौं । धितोपत्र कारोवार गर्ने संस्थाहरुले आफ्नो खुद मुनाफामा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तदायित्व शीर्षकमा खर्च गर्नुपर्ने भएको छ ।

Advertisement

नेपाल धितोपत्र बोर्डले आज विज्ञप्ती जारी गर्दै केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्न निर्देशन दिएको हो ।

बोर्डकाअनुसार यस्तो खर्च विशेष गरी लगानी कर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुपखर्चको वितरण हुनु पर्नेछ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको बोर्डले जानकारी दिएको छ ।

धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगी एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाख भन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको, दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएको र बजारमा नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजारसम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता देखिएकोले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको हो, बोर्डले भनेको छ ।

धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुखरुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन हुने जसबाट लगानीकर्ताले सू-सुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको पनि बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया