बिहीबार, वैशाख १३, २०८१

बैंक अफ काठमाण्डू र अप्पर खुदी जलविद्युतबिच सम्झौता

नेपालखोज २०७७ फागुन १० गते २०:५२

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा. लि. बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । बैंकले आज बुुधबार उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिसत बैंकहरुको सह वित्तियकरण कर्जा र बाँकी ३० प्रतिसत उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डू लिमिटेडको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

प्रतिक्रिया