मल आयात गर्ने सम्झौता रद्द, शैलुङ र मुक्तिनाथको धरौटी जफत

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । कृषि सामाग्रीले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै पुनः दुई कम्पनीलाई कारबाही गरेको हो ।
कम्पनीको सोमबार बसेको बैठकले दुवै कम्पनीसँग मल अरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो ।
कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार यो सँगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्द भइसकेको छ । धरौटी जफत र कालोसूचीको प्रक्रिया थाल्ने निर्णय भएको उनले बताए ।
साढे ६ अर्ब बढीको मल आयात गर्न गत आर्थिक वर्षको ६ वटा ठेक्का नेपाली कम्पनीले पाएका थिए ।
शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५ हजार मेट्रिकटन युरिया मल आयात गर्नुपर्थ्यो । उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजारभन्दा बढी रकमको ठेक्का लिएको थियो ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउनुपर्ने थियो । दुवै ठेक्काको कुल रकम एक अर्ब ८५ करोडभन्दा बढी थियो ।
प्रतिक्रिया