बिहीबार, चैत ६, २०८१

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

नेपालखोज २०७७ पुष २८ गते १३:३४

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १ सय ४ वर्ष पुरानो २ सय मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले काठमाडौँको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटे सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताए ।

Advertisement

उनले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर प्राविधिकलाई सेवक र इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण २२ इन्जिनीयरलाई स्वागत गरेका छन् । मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया