सोमबार, पुष २९, २०८१

नयाँ लाइसेन्स लिन फारम नै खुलेन

यातायात विभागको सर्भरमा समस्या ज्यूँ का त्यूँ

मीना साउँद २०७७ पुष २८ गते १६:५९

काठमाडाैं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा ठूलो समस्या देखिएको छ । यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइट http://onlineedlreg.dotm.gov.np/ मा अनलाइन फारम भर्न भनिएको छ । विभागले अनलाइन फारम भर्ने समय बिहान ६ देखि १० बजेसम्म तोकिदिएको छ, तर सर्भर खुल्दै नखुल्ने समस्याले फारम भर्न निकै समस्या भइरहेको अधिकांश सेवाग्रहीको गुनासो छ ।

Advertisement

सर्भरमा समस्या आएको सेवाग्राहीले गुनासो गरेपछि त्यसको मर्मत कार्यका लागि भन्दै यातायात व्यवस्था विभागले पुस २० गते सेवा नै बन्द गरेको थियो । तर, अझै समस्या ज्यूँ का त्यूँ नै छ ।

‘सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन फाराम भर्ने सर्भरमा देखिएको समस्याबारे नेपालखोजले बुझ्न यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालबाट कुनै प्रतिक्रया पाउन सकेनौं ।’ यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको ०१-४४७४९२१, ०१-४४७९६९० नम्बरमा सम्पर्क गर्दा फोन उठेन ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा पछि लाइसेन्सको परीक्षा रोकिएको थियो । करिब १० महिनापछि खुलेको फारम भर्न नपाउँदा नागरिक निराश भएका थिए । यातायात व्यवस्था विभागले पुस १४ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन फारम खुल्ला गरेको थियो ।

त्यस्तै, सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को फारम भर्न मात्रै होइन नागरिकले परीक्षा दिन पनि सास्ती खेप्नु परेको छ । सोमबार संघीय राजधानीका ३ ठाउँ (चाबहिल, जगाती र ठूलो भ¥याङ)मा लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा लिने भनिएको थियो । तर, ट्राफिक प्रहरी समयमा पुग्न नसक्दा परीक्षा रोकिएको यातायात व्यवस्था कार्यालय चाबहिलका अधिकृत सुदीप रेग्मीले बताए । यद्यपी एकान्तकुनामा भने ढिला गरी परीक्षा लिइएको थियो ।

कार्यालयले सोमबार बिहान ११ बजेका लागि परीक्षार्थीलाई बोलाएको थियो । निर्धारित समयमा लिखित परीक्षाका लागि यातायात व्यवस्था कार्यालयका कर्मचारी र परीक्षार्थी पनि आएका थिए । तर, सबै कुरा तयारी भइसक्दा पनि ट्राफिक महाशाखाको प्रतिनिधि टोली पुग्न नसकेपछि परीक्षा नै प्रभावित भएको हो । साढे १२ बजेसम्म पनि परीक्षा हुनेबारे कुनै टुंगो नलागेपछि परीक्षा नै स्थगित गरिएको थियो ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले साढे १२ मा ट्राफिक प्रहरीले परीक्षा पारदर्शी बनाउन लिखित र प्रयोगात्मक परीक्षामा सीसी फुटेजको व्यवस्था गर्न समय लाग्ने र सडकमा जुलुस र र्‍यालीको व्यवस्थापन गर्न जनशक्तिको कमी भएकाले अघिल्लो दिन नै यातायात कार्यालयका प्रमुखलाई जानकारी गराएको बताए ।

‘हामीले परीक्षा पारदर्शी बनाउन लिखित र प्रयोगात्मक परीक्षामा सीसी फुटेजको व्यवस्था गर्न समय लाग्ने जानकारी गराएका थियौं । प्रवक्ता अधिकारीले भने, ‘सडकमा जुलुस र र्‍यालीको व्यवस्थापन गर्न जनशक्तिको अभाव थियो । हामीले जानकारी गराउँदासम्म उनीहरुले परीक्षा स्थगित गरिसकेका रहेछन् ।’ हिजो विविध कारणले परीक्षा स्थगित भएपनि आज बिहानैदेखि परीक्षा सञ्चालन भएको महाशाखाका प्रवक्ता अधिकारीले बताए ।

टाढा–टाढादेखि परीक्षा दिन आएका परीक्षार्थीहरुले परीक्षा दिन नपाउँदा आक्रोशसमेत पोखेका थिए । उनीहरुले केही समय नाराबाजीसमेत गरेका थिए ।

‘सेवाग्राहीलाई बोलाएर पूर्वसूचनाबिनै परीक्षा स्थगित गराउनु यातायात र ट्राफिक प्रहरीको लापरबाही हो,’ लाइसेन्सको परीक्षा दिनकै लागि कैलालीको टीकापुरदेखि काठमाडौं आएका परीक्षार्थी धर्मराज पोखरेलले भने, ‘बिहान ११ बजेबाट परीक्षा दिन भनेर बसेका थियौं तर, अन्तिममा आएर परीक्षा नै भएन । समय मात्रै बर्बाद भयो ।’ पोखरेल जस्तै धेरै परीक्षार्थी लाइसेन्सको परीक्षा दिनैका लागि काठमाडौं आएका थिए । हरेक सरकारी काम पूरा गर्न नागरिकले सास्ती झेल्नु पर्छ । सानोभन्दा सानो सरकारी कार्य गर्न सेवाग्राहीले सरकारी कार्यालयको दिनहुँजसो चक्कर कट्नुपर्छ ।

प्रतिक्रिया