ओलीको पक्षमा उभिन गृहमन्त्री थापाको आह्वान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आह्वान गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आह्वान गरे । उनले पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपालाई गुटको संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए ।
“हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास सम्भव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ?,” उनले भने । उनले देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया