शनिबार, माघ १२, २०८१

राष्ट्रिय एकताबाट विकास र समृद्धि : प्रदेश प्रमुख शेरचन

नेपालखोज २०७७ पुष २८ गते २१:१२

कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रिय एकताबाट मात्र चाहेको विकास र समृृद्धि हासिल हुने भनाइ राखे।

Advertisement

‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिँदै प्रमुख शेरचनले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबाट आफू दुःखित रहेको भनाइ राखे । उनले देश विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिशनतन्त्र सबैको साझा शत्रु रहेको धारणा राखे।

केन्द्रको २१ औँ अधिवेशनले इन्द्रप्रसाद पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्धितीय उपाध्यक्ष कमलादेवी गिरी, महासचिव चन्द्र गिरी, सचिव विश्व श्रेष्ठ र कोषाध्यक्ष कृष्णमान ठूसाजु छन् ।

त्यसैगरी सदस्यमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक वीरबहादुर अधिकारीले जानकारी दिए । संस्थाले द्वन्द्वपीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको निर्वतमान अध्यक्ष मीनप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया