शुक्रबार, माघ ११, २०८१

पल्सर स्पोर्टस् अवार्ड २०७६ सम्पन्न, कस्ले कुन विधामा जिते ?

नेपालखोज २०७७ पुष २८ गते २१:२९

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यसवर्षको ‘टिम अफ द इयर’को अवार्ड महिला भलिबल टिमले पाएको छ । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला भलिबल टोलीले गएको वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो भने सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको थियो ।

Advertisement

मंगलबार कार्यक्रम आयोजना गर्दै मञ्चले २०७६ मा उत्कृष्ट खेल प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडी, प्रशिक्षकबाट विजेतालाई अवार्ड वितरण गरेको हो । सेमीभर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममार्फत अवार्ड वितरण गरिएको थियो ।

यो वर्ष १० विधामा विजेतालाई अवार्ड प्रदान गरिएको हो । यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुषरमहिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी नौ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीले पल्सर स्पोर्ट्स अवार्ड पाएका छन् ।

यो वर्ष ‘प्लेयर अफ द इयर’ (पुरुषतर्फ)को अवार्ड करातेका मन्डेकाजी श्रेष्ठले हात पारेका छन् । वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेकोमा वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका थिए ।

त्यस्तै, यसवर्षको ‘प्लेयर अफ द इयर’ (महिलातर्फ)को अवार्ड पौडीकी गौरिका सिंहले जितेकी छिन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

त्यस्तै, ‘प्लेयर अफ द इयर’ (युथतर्फ) अवार्ड गल्फका सुवास तामाङले हात पारेका छन् । वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका थिए ।

यसैगरी, कोच अफ द इयरको अवार्ड तेक्वान्दोका नवीनकुमार श्रेष्ठले पाएका छन् । जसको मनोनयनमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका थिए ।

यस्तै, पारा एथ्लिट अफ द इयरको अवार्ड दिगमसिंह चेम्जोङले पाएका छन् भने एथलेटिक्सकी सन्तोसी श्रेष्ठ र तेक्वान्दोकी आयाशा शाक्यले स्पेशल अवार्ड हात पारेका छन् ।

यसैगरी, लाइफ टाइम अचिभमेन्ट अवार्ड गीता क्षेत्री र सिजरिन शाहले पाएका छन् । मलेशियाकी अहमद खवारी इसाले एसियन जर्नालिस्ट अफ द इयरको अवार्ड जितेका छन् ।

प्रतिक्रिया