आइतबार, जेठ ६, २०८१

ए डिभिजन लिग : मछिन्द्रको जित, संकटासँग आर्मीको बराबरी

नेपालखोज २०८० वैशाख २४ गते २०:४४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले एपीएफलाई हराएको छ । दशरथ रंगशालामा आईतबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा ओलावाले अफिजले विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अतिरिक्त समयमा अफिजले मछिन्द्रलाई महत्वपुर्ण तीन अंक दिलाए । जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ ।

खेलमा अग्रता एपीएफले ३६ औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ । एपीएफको १९ अंक भएको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । भरतले यस सिजनको लिगमा आफ्नो पहिलो गोल गरेका हुन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

जिततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टी ब्यहोर्नुपर्यो । संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए ।

रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

प्रतिक्रिया