शनिबार, वैशाख ८, २०८१

पाँच महिनामा भित्रियो ४ खर्ब १६ अर्ब ८१ करोड रेमिटेन्स

नेपालखोज २०७७ माघ १ गते १२:३७

काठमाडौं । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को बाबजुत पनि रेमिटेन्स अर्थात बिप्रेषण आप्रवाह रकम बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन अनुसार यस अवधिमा विप्रेषण आप्रवाह १० दसमलव नौ प्रतिशतले बढेर चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शुन्य दसमलव दुई प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दसमलव चार प्रतिशतले बढेर तीन अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शुन्य दसमालव ४ प्रतिशतले बढेको थियो । चालु आवको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७ दसमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११ दसमलव ८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९ दसमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७ दसमलव ६ प्रतिशतले बढेको थियो । चालु आवको ५ महिनामा ट्रान्सफर ८ दसमलव ५ प्रतिशतले बढेर ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दसमलव १ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ५ महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ । यस अवधिमा पुँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१ दसमलव ५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ५७ करोड रहेको थियो । यसैगरी चालु आवको ५ महिनामा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया