शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री निवासमा मनाइँयो राष्ट्रिय योग दिवस

नेपालखोज २०७७ माघ १ गते १२:५२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा छैटौं राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज (बहीबार) योग दिवस मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए ।

नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

प्रतिक्रिया