बुधबार, वैशाख १२, २०८१

पुष्पलाल स्मृति ब्याडमिन्टनको क्वार्टरफाइनल समीकरण पूरा

नेपालखोज २०७७ माघ १ गते १९:२१

काठमाडौं । सिरहाको गोलबजारमा जारी योनेक्स सनराइज १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्‍याङ्किङ्ग १६ तथा महिला र्‍याङ्किङ्ग १२ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

पुरुषतर्फ समूह ‘ए’बाट नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका गौतम कठायत पहिलो र दोस्रो हुँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् । अब रत्नले समूह ‘सी’को दोस्रो स्थानमा रहेका भोजपुरका विकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेल नै जित्दै समूह विजेता भएका हुन् । तीनमा दुई खेल जित्दै उपविजेता भएका गौतमले समूह ‘सी’का विजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् । प्रफुल ३ मा तीन खेलमा नै विजय भएका थिए । यस्तै, विकासले तीनमा दुई खेल जिते ।

त्यस्तै, समूह ‘बी’बाट एपीएफका दिपेश धामी र सेनाका नवीन श्रेष्ठ विजेता र उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरे । शतप्रतिशत नजिता निकाल्दै दिपेश समूह विजेता बने भने नवीनले एक खेल गुमाएका थिए । अब दिपेशले समूह ‘डी’का उपविजेता रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै उपविजेता बनेका हुन् ।

त्यस्तै, समूह ‘डी’का विजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह ‘बी’का उपविजेता सेनाका नवीन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा शतप्रतिशत जित निकालेका थिए । पुरुष र्‍याङ्किङ्ग १६ को बिहीबार भएको अन्तिम लिगमा एपीएफका गौतम कठायतले एपीएफकै सुमन लिम्बुलाई २१–९, २१–८ ले, पुलिसका सुनील जोशीले बाँकेका इरफान अन्सारीलाई २१–१८, २१–१६ ले, सेनाका प्रफुल महर्जनले एपीएफका विजित थापामगरलाई २१–१६, २३–२१ ले, सेनाका रुकेश महर्जनले पुलिका जीवन आचार्यलाई २५–२३, २१–६ ले, सेनाका रत्नजित तामाङले धादिङका सुदीप सेढाइँलाई २१–११, २१–११ ले, एपीएफका दिपेश धामीले सेनाका नवीन श्रेष्ठलाई २१–११, २१–१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–८, २१–९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला र्‍याङ्किङ्ग १२ बाट समूह ‘ए’मा भोजपुरकी नङ्गशलदेवी तामाङ र विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशी विजेता तथा उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरे । अब नङ्गशलले समूह ‘सी’की उपविजेता एपीएफकी शोभा गौचनको सामना गर्नेछिन् । नङ्गशलले समूहमा शतप्रतिशत जित निकालेकी थिइन् ।

त्यस्तै, राजवंशीले समूह ‘सी’की विजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह ‘बी’बाट सेनाकी अमिता गिरी र एपीएफकी सुनयना मुखिया विजेता तथा उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरे । अमिताले समूह ‘डी’की उपविजेता अनुमाया राई र सुनयनाले एपीएफकी जेशिका गुरुङको सामना गर्नेछन् ।

प्रतिक्रिया