शुक्रबार, चैत १६, २०८०

बिनोदको शतकसँगै पिएम कपमा आर्मीको शानदार सुरुवात

नेपालखोज २०७७ माघ २ गते १७:०३

काठमाडौं । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा बिनोद भण्डारीको शतकमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।

२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट बन्यो । आर्मीका राजेश पुलामीले ५ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासायी बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु उच्च लक्ष्य प्रस्तुत गरेको थियो । बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।

त्यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो । यसअघि क्यान निलम्बनको अवस्थामा राखेपले नीजि कम्पनीसंग मिलेर प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

प्रतिक्रिया