प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्नेदेखि माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने नेकपाको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो । तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।
त्यस्तै शुक्रबार सकिएको सातौं स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ । आजको बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ । प्रदेश नम्बर एकको सहइन्चार्जमा सुरेन्द्र कार्की, जयन्ती राई र राजेन्द्र राई चयन गरेको छ । बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
प्रतिक्रिया