बिहीबार, चैत १५, २०८०

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

नेपालखोज २०७७ माघ ३ गते ६:४२

एजेन्सी । भारतले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।

त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी भएको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ ।

खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।

अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् । राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।

सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।

प्रतिक्रिया