रुघाखोकी लाग्दैमा कोरोना भन्न मिल्दैन

नेपालखोज २०७७ असोज २४ गते १४:००

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले यतिबेला मानिसलाई त्राहिमाम बनाएको छ । सुरुवाती दिनहरुमा यसको संक्रमणदर सामान्य देखिएको नेपालमा यतिबेला भने भयाभह स्थिति नै सृजना भएको छ । हाल नेपालमा दैनिक २ देखि ४ हजार हाराहारीमा कोरोनाका नयाँ संक्रमित थपिदै गएका छन् । कोरोना संक्रमण यतिबेला समुदाय स्तरमै फैलिएको छ । अझ भन्नुपर्दा यो राजधानी केन्द्रीत बनेको छ भन्दा फरक नपर्ला ।

कोरोना संक्रमण पोजेटिभ देखिनेहरु कुनै लक्षणसहितका बिरामी छन त कुनै लक्षण बिनाका पनि छन् । यतिबेला वर्षेयाम सकिएर हिउँदेयाम सुरु हुँदैछ । यस समयमा गर्मि मौसम सकिएर जाडो मौसम सुरु हुने हुँदा पनि सामान्य रुघाखोकी लाग्ने गरेको छ । त्यहि सामान्य अवस्थामा लागेको रुघाखोकी पनि कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? भनेर जनमानसमा द्विविधा रहेको पाइन्छ । तर मौसमी रुघाखोकी लाग्दैमा कोरोना हुन्छ भन्न नमिल्ने जनस्वास्थ्यविद् डा. समिरमणी दीक्षित बताउँछन् ।

सामान्यतय गर्मी मौसम परिवर्तन भएर जाडो मौसम सुरु हुने समयमा प्रायः मानिसमा मौसमी रुघाखोकी लाग्ने गरेको छ । हरेक वर्ष जाडोयाम सुरु हुँदा मानिसमा रुघाखोकी लाग्छ तर यस वर्ष कोरोना संक्रमणको त्रासका कारण मौसमी रुघाखोकी लाग्नासाथ कोरोना संक्रमण नै भएको भन्दै मानिस परीक्षण गर्न जाने गरेका छन् । जसका कारण यतिबेला देशभरका अस्पतालहरुमा बिरामीले भरिभराउ भएका छन् । यसले संक्रमण बढ्ने जोखिम थप बढेको भन्दै सरकारले पनि सामान्य अवस्थाका बिरामीले अस्पताल नआउन अनुरोध गरिसकेको छ । जुन सरकारको अनुरोध यतिबेला बिवादित पनि बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य लक्षणका बिरामीले अस्पताल नआउन र बेहोस भएमा अथवा बेहोस होलाहोला जस्तो भएमा मात्रै अस्पताल आउन अनुरोध गरेपछि यो विबादित बनेको हो ।

सामान्यतय रुघाखोकी लागेकै भएपनि स्वाबमा कोरोना भाइरसका जिवाणु छैन भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आउने विज्ञ बताउँछन् । तर रुघाखोकी लागेको बेलामा कोरोना संक्रमण सर्नसक्ने सम्भावना भने अलि बढी हुने जनस्वास्थ्यविद् दीक्षितको भनाइ छ । सामान्यतया रुघाखोकी र कोरोना भाइरस संक्रमणका लक्षण उस्तै–उस्तै छन् । जसका कारण आम जनमानसमा यस्ता खालका द्विविधा हुने गरेको छ । यस्तोमा रुघाखोकी र कोरोनाका लक्षण उस्ताउस्तै भएपनि केही लक्षणहरु भने फरक हुन्छन् । मुख्यगरी कोरोनामा सँुघ्ने सक्ने शक्ति कम हुने हुँदा यो शक्ति कमजोर भयो भने कोरोना लागेको हुन सक्ने तर अन्तिममा भने परिक्षण नै गर्नुपर्ने जनस्वास्थ्यविद् दीक्षितले बताए ।

मुख्यगरी नाक बन्द हुने, नाकबाट पानी बग्ने, हाच्छ्यँु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका मौसमी रुघाखोकीका लक्षणहरु हुन् । भने सुख्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा र र गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने, खाना नरुच्नेलगायत कोरोनाका लक्षण हुन् । यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर परीक्षण गर्नुपर्ने विज्ञको सुझाव छ ।

 

प्रतिक्रिया