शनिबार, माघ ५, २०८१

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित

नेपालखोज २०७७ माघ ५ गते १४:२४

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर–१ लाई २ विकेटले पराजित गरेको हो ।

Advertisement

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको विजय लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५/३५ रनको योगदान गरे । त्यस्तै, अभिशेक थापाले १२ रन बनाए ।

बलिङतर्फ प्रदेश–१ का लागि मनीष थापा र सुभान्कर उरोले समान २/२ विकेट लिए । त्यस्तै, दिपेश कँडेल र हेमन्त राइले समान १र१ विकेट झारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट हुनुअघि १०२ रन बनाएको थियो ।

प्रदेश १ का लागि कप्तान सिदान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै, मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रन जोडे ।

बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिकसहित चार विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले सो सफलता हात पारे । उनले २८औँ ओभरमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए । त्यस्तै, सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपीन खत्रीले २ विकेट लिए ।

जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ । प्रदेश–१ प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।

प्रतिक्रिया