प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि सुनुवाइ

नेपालखोज २०७७ माघ ६ गते १०:४८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज (मंगलबार) पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना मल्ल प्रधान रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् । सोमबारको सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए ।

अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै बहस गरेर एक दिनको समय गुजारेपछि इजलासले अधिवक्ताहरूलाई समयको ख्याल गर्न सुझाएको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि परेका सबै १३ वटै रिटमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

प्रतिक्रिया