सरकारले भन्सार राजस्व लक्ष्य अनुरुप उठाउन सकेन, आयातमा ४ प्रतिशतको कमि

काठमाडौं । आयातमा आएको कमिका कारण सरकारले भन्सार राजस्व लक्ष्य अनुसार उठाउन सकेको छैन । पुस मसान्तसम्म भन्सार विभागले २ खर्ब १९ अर्ब भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जम्मा १ खर्ब ९८ अर्ब मात्रै संकलन भएको छ ।
महामारीका कारण लामो समय बजार खुल्न सकेन । साथै यही समयमा कैयनले रोजगारी समेत गुमाए । जसका कारण उपभोगमा कमि आयो । पछिल्लो समय उपभोगमा वृद्धि भएको देखिएपनि समग्रमा भने उपभोग गत वर्षको जति हुन सकेको छैन । त्यसैले नै आयातमा कमि आएको देखिएको हो ।
यो वर्षको पुस मसान्तसम्म ६ खर्ब ६१ अर्बको आयात भएको छ । जबकी गत वर्षको सोहि समयमा ६ खर्ब ९४ अर्बको आयात भएको थियो । यसरी हेर्दा समग्रमा आयात ४ दशमलव आठ एक प्रतिशतले घटेको छ । आयातमा कमि आउँदा सरकारले प्राप्त गर्ने राजस्वमा भने धक्का पुगेको छ ।
आन्तरिक उत्पादन बढाउन नसकेका कारण सरकारको अहिले राजस्वको मुख्य आयस्रोत भनेकै आयातित बस्तुमा लगाइएको कर हो । अहिले यही करमा नै कमि आएको छ । तर, गत वर्षको तुलनामा भने भन्सार वापतको राजस्वमा वृद्धि भएको छ ।
गत वर्ष यही समयमा १ खर्ब ८० अर्ब भन्सार संकलन भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो कर ९ दशमलव एक पाच प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब पुगेको छ ।
आयातमा आएको कमिका कारण ब्यापार घाटामा भने सुधार देखिएको छ । त्यस्तै निर्यात भने केही बढेको देखिएको छ । गत वर्षको तुलनामा निर्यात ६ दशमलव एक चार प्रतिशतले बढेको छ । गत वर्षको पुससम्म ५७ अर्ब निर्यात गरेको सरकारले यो वर्षको सोहि समयमा ६० अर्ब हाराहारीको निर्यात गरेको छ ।
निर्यातमा वृद्धि भएको देखिएपनि यो आयातको तुलनामा भने ज्यादै न्युन हो । विशेषगरि अहिले भटमासको तेलका कारण निर्यात ह्वात्तै बढेको देखिएको हो ।
व्यापारीहरुले तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर नेपालमा प्रशोधन गरि भारत पठाउने गरेका छन् । जसका कारण महामारीका बीचमा पनि निर्यातमा भने सुधार आएको देखिएको हो ।
आन्तरिक कच्चा पदार्थमा आधारित नभई विदेशी बस्तुबाट बनेका बस्तुलाई निर्यात गरेर अहिले व्यापारीले पैसा कमाएका छन् । यो देशका लागि भने दिगो होइन ।
कुल व्यापारमा नै कमि आएकाले पनि राजस्वमा कमि आएको हो । गत वर्षको पुससम्म ७ खर्ब ५१ अर्बको व्यापार भएकोमा अहिले जम्मा ७ खर्ब २२ अर्बको व्यापार भएको छ ।

प्रतिक्रिया