बिहीबार, चैत १५, २०८०

लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती

नेपालखोज २०७७ माघ ७ गते १५:००

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइँदै आएको लमजुङमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन गरिएको प्रि ट्रासमिसन एसिस्मेन्ट सर्वेमा राइनास नगरपालिका अन्तरगत २६ जनामा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले गत पुस २३ गतेदेखि २७ गतेसम्म राइनास नगरपालिका–४ र ६ मा उक्त सर्वे सञ्चालन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय र राइनास नगरपालिकाको समन्वयमा दुई वडाका छ वटा क्ल्स्टरमा हात्तीपाइले रोगको जीवाणु भएनभएको पत्ता लगाउन रक्त परीक्षण गरिएको थियो ।

वडा ४ र ६ मा तीन/तीन वटा क्ल्स्टरमा ३ सय /३ सय जनाको रगत परीक्षण गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले जानकारी दिए । उनका अनुसार परीक्षणका क्रममा वडा नं. ४ का १६ जना र ६ का १० जनामा हात्तीपाइलेको जीवाणु देखिएको छ ।

यसअघि यस जिल्लामा १२औं चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईसकेको अवस्थामा पुनःजिल्लामा यस रोगको जीवाणु भेटिनुले हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रत्येक वर्ष औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ, तर सबै नागरिकले नियमित औषधि नखाइदिँदा यस्तो समस्या देखापरेको उनको भनाइ छ ।

सर्वेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसहित राइनास स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका छ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए । यस रोगको जोखिम भएका स्थानमा प्रत्येक दुई/दुई वर्ष यस किसिमको सर्वे गरिने केन्द्रले जनाएको छ । सर्वेमा खटिएको टोलीले रगत परीक्षण गरेर तत्कालै अर्थात् परीक्षण गरेको १५ मिनेटमा हात्तीपाइले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गर्दछ ।

प्रतिक्रिया