बुधबार, वैशाख १२, २०८१

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा थापा नियुक्त

नेपालखोज २०७७ माघ ७ गते १५:३१

काठमाडौं । काठमाडौ विश्वविद्यालय (केयु) को उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त भएका छन । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई उपकुलपति नियुक्त गरेका हुन ।

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उनलाई उपकुलपति नियुक्त गरेको हो । उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आएका प्रा.डा. थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गरेका हुन् । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार भएका थिए ।

पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्रा.डा. थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गरेका थिए । कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुगेका थिए । उनले हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पुर्व उपकुलपति, प्राध्यापक संघलगायतसंग सहकार्य गरी अघि बढ्ने बताए ।

सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गरेका थिए । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

प्रतिक्रिया