शुक्रबार, चैत १६, २०८०

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, आन्दोलनका कार्यक्रम घोषणा गरिने

नेपालखोज २०७७ माघ ११ गते १०:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठक मध्याह्न १२ बजेर ३० मिनेटमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

नेकपाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शनिबार राति प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत ओलीको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा राजधानीमा शुक्रबार आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।’

उनले केपी ओलीसँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।

‘त्यसको निम्ति संघर्ष गर्नुपर्दछ । तब मात्र हामी आफ्नो प्रतिबद्धताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं,’ उनले भनेका छन्, ‘हाम्रो काठमाडौंमा शुक्रबार भएको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारीविना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो । संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’

उनले आफूहरुको एउटा मुख्य चुनौती विधि पद्धति अनुसार पार्टी सञ्चालन गर्नु रहेको समेत बताएका छन् । आजको बैठकमा यही विषयमा समिक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया