बिहीबार, चैत १५, २०८०

भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीक : प्रधानमन्त्री

नेपालखोज २०७७ माघ ८ गते १९:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरूप कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए। उनले नेपालले आवश्यक खोप खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताए।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको एकतालाई देखाएको बताए।

त्यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया