बिहीबार, वैशाख २७, २०८१

काठमाडौंमा आज प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, नौ स्थानबाट वृहत्त जुलुस निकाल्ने तयारी

नेपालखोज २०७७ माघ ९ गते ९:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा नौ स्थानबाट वृहत् जुलुस निकाल्ने तयारी गरेको छ ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट -याली निकाल्ने तयारी गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौं केन्द्रित वृहत् जुलुस र विरोध–सभा आयोजना गरेको हो ।

प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट शुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने छ ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी समेत गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

यसअघि प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते त्यही स्थानमा वृहत् विरोध–सभा आयोजना गरेको थियो । विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल -याली तथा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए ।

‘यो आन्दोलन, यो विरोध प्रदर्शन, नेकपाको मात्रै नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रगमनका पक्षधरहरूको साझा आन्दोलन हो,’ संघर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ–‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अग्रगमनका पक्षमा रहनुभएका सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई भोलिको विरोध प्रदर्शनमा सहभागी बन्नका लागि हार्दिक आह्वान गर्दछौँ ।’

‘संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर प्रदर्शन पूर्णतया शान्तिपूर्ण हुनेछ । आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न हामी अपिलसमेत गर्दछौँ । तर, प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने सरकारी तथा प्रतिगामी समूहको प्रयासप्रति भने हामी सचेत छौँ । सबै जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित, तर जुझारु रूपमा प्रदर्शनमा सहभागी भइदिनुहुन हार्दिक आग्रहसमेत गर्दछौँ,’ जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया