बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री कपमा प्रदेश १ को सान्त्वना जित

नेपालखोज २०७७ माघ ९ गते १५:५३

काठमाडौं । प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ । यसअघि लगातार तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको प्रदेश १ ले आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा प्रदेश १ ले प्रस्तुत गरेको २ सय १६ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५६ रनमा सिमित हुन पुग्यो ।

बलियो योगफललाई पछ्याएको कर्णालीले सुरुवात भने राम्रो गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यानद्वय रविन्द्र शाही र विपिन रावलले ६३ रनको ओपनिङ साझेदारी गरेका थिए । ९.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका कप्तान रविन्द्रले ३२ बलमा २ चौकासहित १८ रन बनाएका थिए ।

यस्तै अर्का ओपनर विपिनले ४७ रनको योगदान गरे । ३४ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको सहयोगमा उक्त रन बनाएका थिए । यी दुई बाहेक निश्चल रावलले ३१ तथा दिवान पुनले १४ र दिनेश अधिकारीले ११ रन बनाएका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि मिनाश थापाले एक्लैले ५ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २६ रन खर्चिएका थिए । यस्तै दिपेश कडेलले ३ तथा मनोज तामाङले २ विकेट हात पारेका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

टिमका लागि कप्तान सिद्धान्त लोहलीले कप्तानी पारी खेले । ९७ बलको सामना गरेका उनले ९ चौकासहित ६६ रन बनाएका थिए । यस्तै टिमका लागि शुभनकन उराओले ३६ रन बनाउँदा फिर्दोस अन्सारीले १७ रन ,मिनाश थापाले २५ रन र ओपनर ब्याट्सम्यान सरवान यादवले १७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३ विकेट हात पार्दा दिनेश अधिकारी र अनुज चुनाराले समान २/२ विकेट लिएका थिए । यस्तै दिवान पुन र राज शाहले पनि १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया