शुक्रबार, वैशाख १४, २०८१

प्रभानमन्त्री कप : एक खेल अगावै बागमती सेमिफाइनलमा

नेपालखोज २०७७ माघ ९ गते १६:४७

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गरेको छ । बागमतीले शुक्रबारको खेलमा प्रदेश–२ माथि ६ विकेटको जित हात पारेको हो । जितसँगै बागमती प्रदेश समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश–२ ले दिएको १८० रनको लक्ष्य बागमतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि ५३ रनमा अविजित रहेका पृथु बास्कोटाले ७५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । विभत्सु थापा ४७ र आकाश थापाले ३२ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

प्रदेश–२ का लागि हरिशंकर शाहले २, विशाल सुस्लिङ र कुमार थापाले समान १–१ विकेट हात पारे ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । उसका लागि विवेक यादवले अर्धशतकीय पारी खेले । ४८.२ ओभरमा रन आउट हुनुअघि उनले ७४ बलमा समान ३–३ चौका र छक्काको मद्दतमा ६६ रन प्रहार गरे । कुमार थापाले २२ र राहुलप्रताप सिंहले १८ रनको योगदान दिए ।

बागमतीका लागि गौतम केसीले ४, रामनरेश गिरीले २, नन्दन यादव, तिलकराज भण्डारी र विपिन आचार्यले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघिका खेलमा बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेट र सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेको थियो । प्रदेश–२ लुम्बिनी प्रदेशसँग ७७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया