शुक्रबार, जेठ ४, २०८१

नेपाल-पाकिस्तान टी–ट्वान्टी फागुन १८ देखि

नेपालखोज २०७८ फागुन ९ गते १४:३२

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म संचालन गर्ने जानकारी दिएको हो ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरि सञ्चालन गर्ने जनाएको छ । समूह ए मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् । समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन् । यस्तै समूह सी मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चार समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् । दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए । यस्तै नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेका नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका रहेको स्पष्ट पारे ।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । नौं दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान दूतावासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया