मानवमुक्त र भिखारीमुक्त भयो त राजधानी ?

नेपालखोज २०७७ माघ १० गते १०:००

काठमाडौं । असार २०७५ मा राजधानीको र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘अब हामी देशको एकजना नागरिक भोको छ छैन, एकजना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– ‘हर एक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । नेपाली भिखमंगा हुन सक्दैन । खान लाउन नपाउने नेपाली हुन सक्दैन ।’

त्यस्तै १५ वैशाख ०७६ मा प्रधानमन्त्री ओलीले सडकमा देखे फोन गर्न समेत आग्रह गरे । १३ असोज ०७६ प्रधानमन्त्रीले भने–‘अब छिट्टै मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं । नेपाललाई खुला दिसामुक्त घोषणा कार्यक्रममा उनले उद्घोष गरेका थिए ।

यसैगरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्रीले फेरि उद्घोष गरे–‘अब सडकमा कोही सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नुपर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब को, स्ट्रिट पिपुल ।’

त्यस्तै ०७६–०७७ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको कुरा पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी थिइन्– ‘मेरो सरकारले असहाय, बेवारिसे, संक्रमित र आश्रयहीन बालबालिकाहरुलाई संरक्षण र हेरचाह गर्नेछ, सक्षम नागरिक बनाई रोजगारीका अवसर उपलब्ध गराउनेछ ।’

नीति तथा कार्यक्रमपछि आएको बजेटमा पनि सरकारले सडक मानवको पुनर्स्थापना गर्ने कुरा उल्लेख गरेको थियो । ०७६–०७७ को बजेटमा लेखिएको छ–‘बेसहारा, अशक्त, अपांगता भएका व्यक्तिहरु सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्न अभिभावकको उत्तरदायित्व र जिम्मेवारीसम्बन्धी कानुन निर्माण गरी परिवारका सदस्य सडकमा छाडी बेवारिसे बनाउने अभिभावक तथा संरक्षकबाटै आवश्यक संरक्षण दिने व्यवस्था मिलाइनेछ ।’

यता २४ मंसिर ०७६ मा काठमाडौं महानगरपालिकाले सडकमा माग्न बसेको भेटिए कारबाही गर्ने सूचना जारी गर्यो ।

मंसिर २८ र २९ गते आफ्नो स्थापनाको २५औं वर्षगाँठ मनाउने तयारीमा जुटेको महानगरले सडकमा माग्न बस्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गराउने घोषणा गर्यो । महानगरले तीन दिनभित्र सडकपेटीमा माग्न बसेकालाई उठ्न उर्दीसमेत जारी गर्यो ।

‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारासहित स्थापना दिवस मनाएको महानगरले काठमाडौं महानगरलाई सडक मानवमुक्त बनाउने अभियान शुरु गर्यो । महानगरले यो नारा संघीय सरकारको २०७५–०७६ को बजेटबाट लिएको हो ।

देशलाई सडक मानवमुक्त बनाउने घोषणा २०७५–०७६ को नीति तथा कार्यक्रममै गरिएको थियो । कार्यक्रममा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नै उल्लेख थियो । तर, यो अभियान सोचे अनुरुप कार्यान्वयन हुन सकेको छैन भने प्रधानमन्त्री ओलीको मानवमुक्त सडक बनाउने योजना उद्घोषमै सिमित रह्यो ।

ओलीले उद्घोष गरेको दुई वर्ष वितिसक्दा पनि काठमाडौं उपत्यकाका सडक मानव मुक्त हुन सकेका छैनन् । अहिले पनि उपत्यकाका विभिन्न मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा बेसहारा, अशक्त, अपांगलगायतका बालबालिकाहरु सडक केन्द्रित नै भएको देखिन्छ ।

त्यसो त झट्ट हेर्दा महानगरले सडक मानवमुक्त बनाउने अभियान शुरु गरेको देखियो । तर, अभियान सुरु गरेकै दुई वर्ष वितिसक्दा पनि सडक मानवमुक्त भने हुन सकेको छैन । यद्यपि काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो अभियान निरन्तर जारी रहेको बताए ।

‘महागरपालिकाको सहयोगमा काठमाडौंका दुई स्थानमा मानव सेवा आश्रम भाडामा लिएको र त्यहाँ सडक मानवहरुको व्यवस्थापन गर्ने काम भइरहेको छ,’ नेपालखोजसँगको सम्पर्कमा सूचना अधिकारी आचार्यले भने–‘महानगरपालिकाले गाडी खरिद गरी आश्रमसँग मिलेर उद्धार गर्ने काम गरिरहेको छ । दिगो व्यस्थापनका लागि महानगरपालिकाले तारकेश्वरमा करिब पाँच सय जना सडक मानव अटाउने गरी सुविधा सम्पन्न संरचना निर्माण गर्ने तयारी गरेको छ ।’

तर, जसरी तपाईहरुले काम भइरहेको छ भन्नुहुन्छ त्यस हिसाबमा काम भइरहेको देखिँदैन । घोषणा भएकै दुई वर्ष बित्दासम्म पनि किन भनेअनुसारको काम भएन, उपत्यकाका सडकमा जताततै सडक केन्द्रित मानव देखिन्छन् नि ? भन्ने प्रश्नमा उनले त्यस्तो देखिएको छ भने मानव सेवा आश्रम अथवा काठमाडौं महानगरपालिकालाई खबर गरेपछि महानगरले उद्धार गर्छ ।

यसको मतलब तपाईहरुले सडकमा सडक मानव देख्नुभएको छैन ? भनेर प्रश्न गर्दा ‘हैन हामीले त देख्ने वित्तिकै मानव सेवा आश्रम र नगर प्रहरीको संयुक्त टोलीलाई खबर गरिहाल्छौं,’ उनले भने ।

उनले थप्छन्,– ‘आज एक जनालाई उद्धार गर्ने वित्तिकै भोलि त्यो ठाउँमा अर्को आउँदैन भन्ने हुँदैन । हामीले जतिखेर जहाँ भेट्छौ त्यतिखेरै उद्धार गर्ने हो । २४ घण्टा हाम्रो टोली सडकमा हिडिरहन र बसिरहन पनि सक्दैन । खबर आउने वित्तिकै उद्धार हुन्छ ।’

यो हिसाबले त तपाईहरुलाई खबर गरेपछि मात्र उद्धार हुने भयो नत्र नहुने भयो ? भनेर सोध्दा उनले अर्को उपाय के हुन सक्छ ? भनेर प्रतिप्रश्न गरे ।

‘कोही मानिस खुसुक्क राति आएर बस्देला । बिहान कसैले नदेख्ने गरी आएर माग्न थाल्ला । अनि हामीले सडकमा नगर प्रहरी अथवा नेपाल प्रहरी राखेर कोही मान्छे पनि आउन पाउँदैन भनेर राख्न त सक्दैनौं नि ।’

यो अभियान देशव्यापी रुपमै जान लागेको बताउँदै उनले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म अभियान शुरु भएको बताए ।

सडक मानव मुक्त सडक बनाउने सबैको कतव्र्य रहेको बताउँदै आचार्य भन्छन्– ‘महानगरले मात्रै गर्छ भनेर बस्नु भएन । नगर प्रहरी, नेपाल प्रहरी, नागरिक, मानव सेवा आश्रम, काठमाडौं महानगरपालिका ज–जसले जहाँ–जहाँ सडक केन्द्रित मानव देख्छन् उहाँहरुले उद्धारका लागि खबर गर्नुपर्यो । खबर भएपनि उद्धार भएन भने अनि बल्ल उजुरी दिने ठाउँ हुन्छ ।’

प्रतिक्रिया