बिहीबार, वैशाख १३, २०८१

भयावह बन्दै युवा पुस्तामा मानसिक रोग, पुरुषमा भन्दा महिलामा बढी

लक्ष्मी चौलागाईं २०७७ माघ १० गते १४:५४

काठमाडौं । काठमाडौंका विभिन्न अस्पतालको पछिल्लो तथ्यांकले मानसिक रोगीहरुको संख्या बढ्दै गएको बताएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा दैनिक २०–२५को संख्यामा मानसिक रोगीहरु आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये १०–१५ को संख्यामा युवा मानसिक रोगीहरु आउने गरेका छन् ।

वेरोजगारी, युद्ध घरायसी तनावलगायतका कारणले युवा पुस्तामा मानसिक रोगीहरुको संख्या बढ्दै गएको त्रिभुवन शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा बताउँछन् । यसका साथै जाँडरक्सी तथा चुरोट खैनीजस्ता पदार्थहरुको अत्याधिक मात्रामा प्रयोग गर्ने युवा जमातमा पनि मानसिक रोगको समस्या विकराल रुपमा देखा परेको डा.ओझाको तर्क छ ।

मानसिक रोगीहरुलाई कडा खालका मानसिक रोगी तथा नरम खालका मानसिक गरी दुई भागमा वर्गीकरण गरिन्छ । वर्तमान समयमा कडा खालका युवा मानसिक रोगीहरुको संख्या अत्याधिक मात्रामा बढेको पाटन मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ बताउँछन् । उनका अनुसार वर्तमान समयमा मानसिक रोगको उपचारका लागि मानसिक अस्पताल पाटन आउने अधिकांश युवा जमात रहेको छ ।

मानसिक रोगअन्तर्गत डिप्रेसनको समस्या पुरुषभन्दा महिलाहरुमा बढी मात्रामा देखिएको छ । जीवनमा अभाव बढी हुनु ,कूलत, बेरोजगारी, देखासिकी, निद्रा नलाग्नुलगायतका कारणले मानिसहरु युवावस्थामै मानसिक रोगको सिकार हुने श्रेष्ठ बताउँछन् ।

उनका अनुसार सहरी भन्दा ग्रामीण क्षेत्रका युवा बढी मानसिक रोगको शिकार बनेका छन् ।युवाहरुमा मानसिक समस्या देखिएपनि त्यसको उपचार गराउनुपर्छ भन्ने ज्ञानको भने अभाव छ ।

उनीहरु आफूलाई मानसिक रोग लागेको स्वीकार नै गर्दैनन् । मानसिक रोगी भन्ने बित्तिकै समाजले दिने नकारात्मक धारणाका कारण युवा मानसिक रोगीहरु आफ्नो रोगबारे खुल्न नचाहेको डा.श्रेष्ठको तर्क छ ।

प्रेम सम्बन्ध आकस्मिक रुपमा छुट्नु, कुनै पनि निकट व्यक्तिको आकस्मिक रुपमा हुने मृत्यु जस्ता कारणले कतिपय युवाहरु मानसिक रोगको शिकार हुन पुगेका छन् ।

नेपालका मानसिक रोगीहरुमा विशेषगरी चार प्रकारका उदासीनता, विक्षिप्तता हिस्टोरियार छारेरोगजस्ता समस्याहरु देखिएको छ । कतिपयलाई वंशानुगत कारणले नै मानसिक समस्या देखापर्छ । त्यस्ता मानसिक रोगीहरुको भने उपचार सम्भव नरहेको डा.श्रेष्ठ बताउँछन् ।

गत महिनामात्रै मानसिक रोगको परीक्षणका लागि पाटन मानसिक अस्पतालमा ३ हजार ७ सय ६५ बिरामी आएको डा.श्रेष्ठ बताउँछन् । जसमध्ये १ हजार ८ सय १३ महिला तथा १ हजार तथा १ हजार ९ सय ५२ पुरुष रहेका थिए ।

परिवारको पालनपोषण तथा आर्थिक बोझका कारण पनि युवापुस्तामा मानसिक रोग बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा.ओझा बताउँछन् ।

वर्तमान समयमा मानसिक रोग विश्वव्यापी रुपमा देखिएको छ । विश्वमा करिब २० देखि २५ प्रतिशत मानिसमा मानसिक समस्या देखिएको उनले बताए । चेतना तथा सेवा सुविधाको अवस्था बढ्दै गएको वर्तमान अवस्थामा उपचारका लागि आउने मानसिक रोगीहरुको संख्या बढ्दै गए पनि मानसिक रोगीहरुको संख्या भने दिन प्रतिदिन बढ्दै गएको उनको भनाइ छ ।

उनका अनुसार युवापुस्तामा बढेको मानसिक समस्याको कारण राजनीतिक अस्थिरताले सिर्जना गरेको वेरोजगारी र आर्थिक अभाव पनि एक हो ।

वैदेशिक रोजगारीमा गएका युवाहरु घरपरिवारबाट टाढा रहनुले पनि मानसिक समस्या निम्त्याएको उनी बताउँछन् । यसका साथै बढी मात्रामा अल्कोहलयुक्त पदार्थको सेवनले समेत युवामा मानसिक रोग देखिएको ओझाको तर्क छ ।

प्रतिक्रिया