शुक्रबार, वैशाख १४, २०८१

शैक्षिक माफिया राजाराम ठगको नालीबेली

नेपालखोज २०७७ माघ १० गते १६:५३

धनगढी । विभिन्न शीर्षकमा विद्यार्थीलाई ठगी गरी झण्डै ५५ लाख रकम उठाएर फरार रहेका कैलालीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–८ का राजाराम चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका ३४ बर्षे राजाराम चौधरीलाई शैक्षिक ठगी गरेको ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७४ चैत १४ गते २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ जरिवानासमेत तोकेको थियो, तर उनी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले धनगढी उप–महानगरपालिका–१ बस्ने अनिता चौधरीलाई भारतमा अध्ययन गरेको बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयबाट वैधानिकता दिलाइदिने भन्दै ५ लाख ठगी गरी फरार भएका थिए।

चौधरीलाई शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका–९ धनचैयास्थित आफ्नो भिनाजुको घरमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

त्यसैगरी राजारामले २०७३ मा सीटीईभिटीबाट अनुमति लिएर भर्ना खोलेको भन्दै धनगढीमा मल्टिस्किल इन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालि सञ्चालन गरी १ सय १८ जना विद्यार्थी भर्ना गरी उनीहरुबाट ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरी फरार भएका थिए।

उनीसँगै सोही कार्यमा संलग्न भएको आरोपमा कैलारी गाउँपालिका–९ का ३३ बर्षे शिवकुमार चौधरीलाई समेत पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया