बैतडीमा फेला डेक्ची बम सेनाद्वारा निस्क्रिय, राजमार्ग सञ्चालन

बैतडी । बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६, चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको हो ।
बेवारिसे अवस्थामा फेला परी निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
गएराति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निस्क्रिय पारेको हो । उनले भने, ‘‘उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन । थप अनुसन्धान गर्दैछौँ ।’’ नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच, गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ । सडकमा राखिएको बमका कारण बन्द भएका सवारी–साधन पनि बम निस्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी–साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया